Sunday, March 10, 2013


२७ फागुन, काठमाडौं । मलेसियाको केलाङ मेहरुमा रहेको चर्चित कम्पनी ‘टप ग्लोब’ ले राति बन्दुक देखाएर केही नेपाली कामदारलाई  फिर्ता पठाएको छ । कम्पनीका निजी सुरक्षाकर्मी लगाएर फिर्ता पठाइएका केही कामदार प्लाष्टिकको थैलोमा कपडा बोकेर कट्टु र सेन्डोमै काठमाडौं एयरपोर्ट आएको मलेसियाबाट फर्काइएका सिन्धुपाल्चौक हेलम्बुका तेन्जिङ लामाले अनलाइनखबरलाई बताए ।
‘सुतिरहेका ठाउँमा कम्पनीका पुलिसले बन्दुक तेस्र्याएर उठाए अनि सिधै एयरपोर्टमा ल्याएर काठमाडौं पठाए ।’ बिहीबार ६ जनाको समूहमा नेपाल फर्काइएका लामाले भने- ‘कति साथीले बैंकमा रहेको पैसा एटिएमबाट झिक्न पाएनन्, कसैले तलबसमेत पाएनन, हामीलाई चोरलाई जस्तो व्यवहार गरियो ।’लामाका अनुसार टप : ग्लोब कम्पनीले विहीबार ६ जना, शुक्रबार १३ जना र शनिबार ४ जना नेपाली कामदारलाई राति नै बल प्रयोग गरेर नेपाल पठाइसकेको छ । कम्पनीका कार्यरत् अन्य सयौं नेपालीहरुले नेपाल फर्काइने डरले झोला किनेर सामान पोको पार्न थालेका छन् ।
किन फर्काइयो नेपाल ?
मलेसियाको टप ग्लोब त्यहाँको चर्चित एवं प्रतिष्ठित कम्पनी हो । २७ वटा फ्याक्ट्री सञ्चालनमा रहेको सो कम्पनीमा कार्यरत करिब ७ हजार मजदुरमध्ये नेपालीमात्रै करिब ५ हजारको संख्यामा छन् । हालै मलेसिया सरकारले मजदुरको न्यूनतम पारिश्रमिक ५ सय ४६ रुपैयाँबाट बढाएर ९ सय रिंगेट बनाएपछि कम्पनीले पुराना नेपाली कामदारलाई हटाएर सस्तोमा नयाँ मजदुर ल्याउन त्यसो गरेको पीडितको गुनासो छ । सरकारले तोकेको पारिश्रमिक र आइतबारको दोब्बर ओभरटाइम दिन कम्पनीले इन्कार गरेपछि गत आइतबार टप ग्लोबका मजदुरले २४ घण्टा हड्ताल गरेका थिए । सोही हड्तालपछि कम्पनीले नेपालीहरुलाई राता-रात निकालेको लामाको गुनासो छ । उनका अनुसार ३/४ जना नेपाली कामदारलाई थुनामासमेत राखिएको छ ।
‘तिमीहरुलाई ९ सय रिंगेट दिन्न, बरु नेपालबाटै नयाँ मजदुर ल्याएर ६ सय ३० मै काम लगाउँछु ।’ कम्पनीको भनाइ उधृत गर्दै लामाले अनलाइनखबरसँग भने । नयाँ सरकारी नीति लागू भएपछि पहिलो महिना पूरौ तलब दिएर अर्को महिनादेखि कम्पनीले बढेको तलब खुवाउन आनाकानी गरेको नेपाली कामदारको गुनासो छ । ‘पहिले २६ दिनको एक महिना मानिन्थ्यो, ४ वटा आइतबारको ओभरटाइममा दोब्बर पारिश्रमिक दिइन्थ्यो ।’ पीडित लामा भन्छन्-’ अहिले आइतबारको ओटी कटौती गरिएको छ । लेबी, कोठाभाडा र विमा काट्न थालिएको छ, यसले गर्दा तलब बढे पनि महिनामा थाप्ने तलब खासै बढेको छैन ।’
मलेसियन राजनीतिको मार नेपालीमाथि
‘मलेसियाका रोजगारदाता कम्पनीहरुले नेपालीलाई यसरी रातारात खेद्नुका पछाडि त्यही न्यूनतम ९ सय रिंगेट तलबकै विवाद हो ।’-नेपाल फर्केका पीडितको गुनासो छ । नयाँ मजदुर ट्रायलमा राख्दा ६ महिनासम्म न्यूनतम ९ सय दिनु नपर्ने नयाँ कानूनमा उल्लेख भएकाले गर्दा कम्पनीका मालिकहरु पुराना कर्मचारीलाई जबर्जस्ती हटाएर नयाँलाई ट्रायलमा राख्ने पक्षमा देखिएका छन् । यसका लागि नेपालमा जति पनि सस्तोमा मजदुर पाइने उनीहरुको दाबी छ । मलेसियामा नयाँ चुनाव आउन लागेकाले विपक्षीलाई तह लगाउन र स्वदेशी मजदुरको भोट बढाउन मलेसियन सरकारले तलबवृद्धिको घोषणा गरेको हो ।
तर, विदेशी मजदुरको हकमा ६ महिना ट्रायलमा कम तलबमा काम लगाउन सकिने र ३६ वटा कम्पनीले ९ सय तलब नदिए हुने नयाँ व्यवस्था त्यहाँको सरकारले गरेको छ । पीडितहरुका अनुसार कम्पनीका मालिकहर अनेकन सुविधा कटौती गरेर ९ सय तलब नदिने नियतमा सक्रिय भएका छन् ।अर्काको देशमा काम गर्ने भएकाले नेपाली कामदारमाथि परेको अन्यायका विरुद्ध बोलिदिने निकाय नभएको पीडितहरुको गुनासो छ । अनलाइनखबरसँग लामाले भने- ‘हामीलाई कम्पनीले यसरी हतियार देखाएर रातारात खेदाउँदा पनि हाम्रो पक्षमा बोलिदिने कोही छैन ।’
नेपालमा मेनपावरको अर्को ठगी धन्दा
उता मलेसियन सरकारले मजदुरको न्युनतम तलब ६ सय ३० बाट बढाएर एक्कासी ९ सय रिंगेट पुर्याएको घोषणा गर्नासाथ यता नेपालका मेनवापर कम्पनी र त्यसका एजेन्टहरुले नेपालीहरुलाई ठग्न थालेको गुनासो केहीले गरेका छन् । ‘मलेसिया पठाउँदा पहिले ८०/९० हजारसम्म लिने मेनवापरले अहिले सरकारलाई छलेर १ प्रतिव्यक्ति १ लाख ८० हजारसम्म लिन थालेका छन् । मलेसियामा ९ सय तलव पुग्यो नि भन्दै उनीहरुले युवाहरुबाट बढी रकम उठाउन थालेको स्रोतले अनलाइनखबरलाई बतायो ।
‘एक त मलेसियन सरकारले तोकेको तलब त्यहाँका कम्पनीले दिन कानेका छैनन्, दोस्रो नेपालबा मेनवपावरले गैरकानूनी तरिकाले दोब्बर रकम उठाउँन थालेका छन् ।’ मलेसियाको टप ग्लोबबाट फर्केका युवाले भने- ‘हामी त पीडित भयौं, अब अरु नेपाली दाजुभाइहरु कसैबाट पनि नठगिउन् र बेलैमा चनाखो बनुन् ।’
नयाँ कामदारले पुरानै तलब पाउने
स्रोतका अनुसार नेपालबाट टप ग्लोबले नयाँ कामदारहरु लैजान लागेको छ । उनीहरुलाई ९ सय तलव दिनु नपर्ने भएकाले पुरानालाई जबर्जस्ती हटाएर नयाँ लान लागिएको हो । नेपालका मेनपावरले ९ सय तलब पाइन्छ भन्दै बढी रकम लिएर कामदार पठाए पनि उनीहरुले पुरानै स्केलको तलब पाउने पीडितको गुनासो छ ।
"साभार अनलाइन खबर "